info@nawayug.com

अर्जुन दोङ तामाङको परिवारसँग सरकारको संवाद नभएको आरोप

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरएन राईले त्रिपुरेश्वरमा केही दिनअघि बसमा भएको आगलागी घटनामा पीडित भएका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म कुनै पनि संवाद वा सम्पर्क नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद राईले पीडित परिवारलाई हालसम्म कुनै सहयोग नमिलेको र उनीहरू गुनासो लिएर धाइरहेको भन्दै उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराए। 

त्यस्तै सांसद राईले मुस्ताङको हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य प्रभावकारी नभएको र पोल्यान्डमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

राईले असोज ११ गते मुस्ताङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यमा ढिलाइ भएकोमा आपत्ति जनाए। उक्त हिम पहिरोमा खोजी कार्यका लागि गएका खोटाङ जिल्लाका तीन जना स्थानीय बेपत्ता भएका छन्। तीमध्ये एक जनाको शव भेटिए पनि अन्य दुई जना ल कुमार गुरुङ र सुरज राई अझै बेपत्ता छन्।

सांसद राईले विदेशमा कार्यरत नेपालीहरूको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। पोल्यान्डमा कार्यरत नेपालीहरूले त्यहाँका बैंकमा खाता खोल्न नपाउँदा ठुलो सास्ती भोगिरहेको उनले बताए। ‘त्यहाँका बैंकहरूले जेन्जी आन्दोलन पछि नेपाली श्रमिकको खाता खोल्न बन्द गरेका छन्, जसले गर्दा नेपालीहरूले कारोबार गर्न नपाइ समस्यामा परेका छन्,’ उनले भने।

नेपाल ग्रे लिस्ट मा रहेको भन्दै बैंकले खाता खोल्न अस्वीकार गरिरहेको र नयाँ खाता खोल्न खोज्दा नेपाली पासपोर्टको नम्बर देखाउँदा समेत समस्या भइरहेको उनको भनाइ छ। उनले परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायलाई तत्काल यसबारे कूटनीतिक पहल गरी नेपाली श्रमिकहरूको समस्या समाधान गर्न आग्रह गरे।

प्रतिक्रिया