info@nawayug.com

३५ हजारको सहयोगबाट स्वरोजगार बनेका महिला, मासिक १५ हजारसम्म कमाउँदै

लहान । एक वर्षअघिसम्म सिरहाको लहान नगरपालिका–१५, सोभापुरकी गीता चौधरीको दैनिकी सामान्य खेतीपाती र पशुपालनमै सीमित थियो । घरायसी कामसँगै खेतीपाती गरेर परिवार चलाउँदै आएकी गीता अहिले भने आफ्नै घरमा दुना–टपरी उद्योग सञ्चालन गर्छिन्। त्यसैले उनको परिचय अहिले कृषकबाट ‘उद्यमी’ बनेकी छन् ।

आफ्नै घरमा दुना–टपरी बनाउने मेसिन राखेर काम गर्न थालेपछि गीता र उनका पाँच जना छिमेकीसाथिका लागि आम्दानीको नयाँ बाटो खुलेको छ । गीता मात्रै होइन जानकी उद्यमी महिला कृषक समूहका अरू पाँच जना महिलाहरू पनि अहिले दुना टपरी बनाउने काम गर्छन् ।

जानकी उद्यमी महिला कृषक समूहलाई दुना–टपरी बनाउने मेसिन सहयोग भएपछि समूहका १५ सदस्यमध्ये छ जना महिलाले आम्दानीको माध्यम बनाएका छन् । समूहका अन्य सदस्य कोही पसल सञ्चालन गर्छन्, कोही गाई–भैँसी पालनमा छन् भने कोही तरकारी खेती गरिरहेका छन् ।

गीताका अनुसार दुनाटपरीको बजार पनि राम्रो छ । आफूहरूले उत्पादन गरेको दुना–टपरी लहान बजार तथा केही उद्योगबाटै बिक्री हुने गरेको उनी बताउँछिन् । ठूलो साइजको दुनाटपरी सयकडा चार सय रुपैयाँ, मध्यम साइजको तीन सय र सानो साइजको दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

महिलाहरू दैनिक ६ घण्टा मात्र दुना टपरीको काम गर्छन् । बाँकी दिनभर उनीहरू छोराछोरीलाई स्कुल पठाउने , टिफिन पुर्‍याउने देखि , पशुपालन, खेतीपातीको काम पनि भ्याउँछन् । यसरी उत्पादन गरेको दुना टपरीको बिक्रीबाट महिलाहरूले मासिक करिब २० देखि २५ हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेका छन् । विवाह, भोजभतेर तथा चाडपर्वको समयमा माग अझ बढ्ने उनीहरू बताउँछन् । खर्च कटाएर बाँकी रकम उनीहरूले पारिश्रमिकका रूपमा लिने गरेका छन् ।

यसबाट भएको आम्दानीले उनीहरूले घर खर्च चलाउने, छोराछोरीलाई पढाउन खर्च गर्ने गरेको बताउन् । समूहकी अर्की सदस्य योगिता चौधरीकी छोरी स्नातक तहमा अध्ययनरत छिन् भने छोरा कक्षा ९ मा पढ्छन् दुना–टपरीबाट नियमित आम्दानी हुन थालेपछि छोराछोरीको शुल्क तिर्न साहुसँग पैसा लिनुपर्ने अवस्था हटेको योगिता बताउँछिन् ।

“दुना–टपरीको काम नगर्दा छोराछोरीको स्कुल–कलेजको शुल्क तिर्न ठूलो समस्या हुन्थ्यो,” उनी भन्छिन्, “अहिले आफ्नै कमाइबाट पढाएका छौँ ।”मासिक बचत पनि गर्छौ । पाँच जनाले मासिक पाँच सय रुपैयाँ जम्मा गर्छौ । गीताले विभिन्न समूहमा गरेर मासिक चार हजार बचत गर्ने गरेको बताइन् ।

लहान १५ शोभापुरका महिलाहरूको जस्तै कथा लहान–१८, अमही टोलका प्रतिभा चौधरी र अस्मिता चौधरीको पनि छ । बस्ने सानो झुपडीबाहेक सम्पत्ति नाममा केही जेथा नभएका प्रतिभा र अस्मितालाई गाई भैँसी पाल्ने र आम्दानी गर्ने रहर भएपनि किन्ने पैसा थिएन । आम्दानीको श्रोतको नाममा श्रीमानको ज्यालामजदुरी र दुई चार वटा बाख्रा पाठाकै भर थियो । तर जब दुवै जनाले संरक्षण परियोजनाको जीविकोपार्जन सहयोग कार्यक्रममार्फत ३५ हजार रुपैयाँ सहयोग पाए । दुई जनाले पाडी किने र भैँसीपालन शुरु गरे ।

अहिले दुवैको घरमा तिनै पाडा हुर्केर ब्याएका छन् । प्रतिभा र अस्मिता अहिले दैनिक ६–६ लिटर दूध बिक्री गर्छन् । दूध बिक्रीबाट प्रतिभा र अस्मिता दुबैजनाले मासिक १५, १५ हजार रुपैयाँ आम्दानी लिने गरेको बताउँछन् । आम्दानीबाट अस्मिता मासिक १० हजार रुपैयाँ र प्रतिभा मासिक पाँच सय रुपैयाँ बचत गर्छिन् ।

“पहिला आफ्नो रोजगारी थिएन । श्रीमान्को कमाइमा परिवार नै आश्रित हुनुपर्थ्यो,” अहिले हामी पनि कमाउँछौ, परिवारको खर्च चलाइरहेका छौ । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पनि आफै गर्छौ, अस्मिताले भनिन् । प्रतिभाका अनुसार पहिला छोरा छोरीको फी तिर्न खसी बोका कहिले ठूलो हुन्छ भनेर एक साल कुर्नु पर्थ्यो । अहिले त दैनिक ६ सय रुपैयाँ हामी घरै बसेर कमाउँछौ ।

“बचत गर्छौँ र घरका आवश्यकता पुरा गर्छौ । यसले हामीलाई आँट, हिम्मत बढाइको छ, प्रतिभाले भनिन् ।

यी दुई उदाहरण लहान–१५ र १८ मा जीविकोपार्जन सहयोग कार्यक्रमले ल्याएको परिवर्तनको कथा हुन् । तर यस्ता कथा अझ धेरै छन् ।परियोजनाले किसान कार्ड मार्फत जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ४ सय घरधुरीलाई सहयोग प्रदान गरेको छ । त्यसमध्ये २३० घरधुरीका स्थानीयले भैँसीपालन गर्छन् । कोही सिलाइकटाई, लाहाचुरीको काम गर्छन् भने कतिले साना व्यवसाय चलाएका छन् । कति तरकारी खेती गर्छन् ।कोही व्यवसायिक तरकारी खेती गर्छन् । कोही गँड्यौला मल बनाउँछन् ।

संरक्षणसँग जोडिएको जीविकोपार्जन

जर्सी ओभरसिज र केयर नेपालको आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ र राष्ट्रिय कृषक समूह महासंघसंगको सहकार्यमा संरक्षण परियोजनाले लहान नगरपालिका–१५ र १८ मा काम गरिरहेको छ ।

दलित , मुसर, सीमान्तकृत घरधुरीलाई किसान कार्ड मार्फत जीविकोपार्जन सहयोग, वातावरण र जलाधार संरक्षण व्यवस्थापनलाई एकअर्काका पूरकका रूपमा अघि बढाएको परियोजनाकी कृषि अधिकृत शोभा पासवानले जानकारी दिइन् ।

महिलाहरूलाई सीप र आम्दानीको अवसर, किसानको उत्पादनलाई बजारसँग जोड्ने प्रयास, वन तथा जलाधार संरक्षण र पानीको दिगो व्यवस्थापन जस्ता कार्यक्रमले स्थानीय समुदायलाई आफ्नै स्रोत, श्रम र सीपको उपयोग गरी आर्थिक तथा सामाजिक रूपमा अघि बढ्ने आधार तयार गरिरहेको पासवानले बताइन् ।

मुतनी खोला जलाधार क्षेत्रका ९ वटा सामुदायिक वन छन् । त्यसभित्र रहेका ३२ कृषक समूहका ७ सय ३५ घरधुरीमध्ये महिला, बाढी प्रभावित, दलित तथा मुसर सीमान्तकृत ४ सय घरधुरीलाई किसान कार्डमार्फत जीविकोपार्जन सहयोग कार्यक्रम सञ्चालन गरिएको पासवानले जानकारी दिइन् ।

किसान कार्डमार्फत कृषि तथा पशुपालन प्रवर्द्धन गर्ने त्यस्तै, क्लाइमेट स्मार्ट भिलेज (जलवायु मैत्री गाउँ) को अवधारणाअनुसार जलवायु मैत्री कृषि उत्पादनका लागि भर्मि कम्पोस्ट बनाउने, विषादीरहित तरकारी खेती गर्ने, झोलमल बनाउने र जैविक विषादी घरमै तयार गर्ने, युरिया मल तथा रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने काम भएको छ ।

“गैरकृषि क्षेत्रमा पनि काम गरेका छौ"। कोही महिलाहरू सिलाई-कटाइको काम गर्छन् । कोही सानो पसल चलाउने तथा अन्य उद्यम गरिरहेका छन्,” अधिकृत पासवानले भनिन् ।

परियोजनाले वातावरण जोगाउने, प्रदूषण नगर्ने र वातावरणलाई हानि नपुर्‍याउने गतिविधिमा पनि जोड दिएको छ । जलाधार व्यवस्थापनसँगै जल, जंगल र जमिन संरक्षणका कार्यक्रम सञ्चालन गरिएको छ । कृषक पाठशालामार्फत किसानहरूलाई जागरूक गर्ने गरिएको छ ।

संरक्षणसँगै जीविकोपार्जनमा जोडिँदै लहानका सामुदायिक वन

जसकालागि मुतनी खोला करिडोरअन्तर्गतका नौ वटा सामुदायिक वनसँग संयुक्त कार्ययोजना निर्माण गरी वन, वातावरण तथा जलाधार क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनका काम अघि बढाइएको छ । प्रकृति संरक्षण, व्यवस्थापन र सदुपयोगको अवधारणा अनुसार स्थानीय समुदायको सहभागितामा संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन् ।

बाँस, बाबियो, ढुङ्गा, माटोलगायत स्थानीय स्रोत–साधनको प्रयोग गरी जलवायुमैत्री संरचना निर्माण गरिएको छ। यस्ता संरचनामार्फत पानीका मुहान संरक्षण, नदी कटान तथा भूक्षय न्यूनीकरण र पहिरो नियन्त्रणका काम भइरहेका छन्। संरक्षणका गतिविधिमा स्थानीय उपभोक्ता समूह तथा कृषकहरूको प्रत्यक्ष सहभागिता रहेकाले स्थानीय स्रोतको उपयोगसँगै संरक्षणप्रतिको अपनत्वसमेत बढेको छ ।

लहान–१५ र १८ मा वर्षाको पानी संकलन, भू–जल पुनर्भरण, सुख्खा समयमा पानीको उपलब्धता कायम गर्ने तथा सतहमा पानीको तीव्र बहाव घटाउने उद्देश्यले १२ वटा एकीकृत बहुउद्देश्यीय पोखरी निर्माण गरिएको छ । परियोजनाका इन्जिनियर नवीन ठाकुरका अनुसार ती पोखरीमा सय लाख मिलियन लिटर पानी संकलन तथा संरक्षण भइरहेको छ ।

पोखरी निर्माणपछि चुरे क्षेत्रको वातावरणमा समेत सकारात्मक परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् ।

यसरी पानीको संरक्षणपछि चुरक्षेत्रमा हरियाली बढेको छ । त्यस क्षेत्रको पानी श्रोत संरक्षण गरिएकाले जमिनमा चिस्यान कायम हुन थालेको राजदेवी चुरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र चौधरीले बताए । “पहिला पोखरी नहुँदा यो क्षेत्रसुख्खा हुन्थ्यो । अहिले हरियाली र हराभरा छ,” चौधरीले भने ।

मानिस, पशु चौपाया तथा चराचुरुङ्गीका लागि पानीको स्रोत उपलब्ध भएको छ । भने स्थानीय समुदायका लागि जीविको पार्जनको आधार पनि बनेको छ । निर्माण गरिएका अधिकांश पोखरीमा सामुदायिक वन उपभोक्ता समूह तथा कृषक समूहले माछा पालन गरेर राम्रो आम्दानी गरेका छन् । यसबाट सामुदायिक वनको आम्दानी बढेको छ । साथै स्थानीयस्तरमा रोजगारी र स्वरोजगारका अवसर सिर्जना भएका छन् । कोइरालो खोला, तेतरीखोला र राजदेवी सामुदायिक बनभित्रका पोखरीहरूमा माछा पालन गरी वार्षिक २० क्वीन्टलभन्दा बढी माछा उत्पादन हुने गरेको छ ।

अर्कोतिर मानिस, पशु चौपाया तथा चराचुरुङ्गीका लागि पानीको स्रोत उपलब्ध गराएको छ । जैविक विविधता संरक्षण र विकास हुन थालेको छ भने लोपोन्मुख जीवजन्तु , सालक, ओटर , काठे भालु त्यसैगरी लोपोन्मुख चराचुरुङ्गीका हुलहरू पनि आउन थालेका छन् । किसानहरूले आवश्यकता अनुसार सिँचाइमा पानी प्रयोग गर्दै बेमौसमी खेतीसमेत गर्न थालेका छन् ।

महिलाको आर्थिक सशक्तीकरण

महिलालाई सीप, उत्पादन र आयआर्जनसँग जोड्ने कार्यक्रमले उनीहरूको आर्थिक तथा सामाजिक भूमिकामा परिवर्तन ल्याउन थालेको छ । गीता चौधरीले उत्पादन गर्ने दुना–टपरीदेखि स्थानीय समुदायले गरेको माछा पालन, प्रतिभा र अस्मिताले पाएको भैँसी पालनसम्बन्धी सहयोगसम्मका कार्यक्रमले महिलाको दैनिक जीवनमा मात्रै होइन, परिवार र समुदायमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ ।

दुना–टपरी उत्पादनबाट महिलाले आम्दानी गर्नुका साथै प्लास्टिकको प्रयोग घटाउने सन्देश पनि समुदायमा पुर्‍याइरहेका छन् । पशुपालनमा आबद्ध महिलाले दूध बिक्रीबाट घरखर्च र छोराछोरीको शिक्षामा सहयोग पुर्‍याइरहेका छन् । नियमित बचत गर्ने बानीको विकास हुनुका साथै उत्पादनलाई बजारसँग जोड्ने प्रयाससमेत अघि बढेको छ ।

आर्थिक गतिविधिमा महिलाको सहभागिता बढेसँगै सामाजिक, शैक्षिक, राजनीतिक तथा सामुदायिक नेतृत्वमा उनीहरूको उपस्थिति पनि बलियो हुँदै गएको स्थानीयको अनुभव छ । यसले महिलाको आत्मविश्वास र व्यक्तित्व विकासमा समेत परिवर्तन ल्याएको पत्रकार जीबछ चौधरी बताउँछन् ।

स्थानीय ममता चौधरीको अनुभव यसको एउटा उदाहरण हो । केही समयअघि उनको भैँसी मरेपछि उनले आफैँ बीमा दाबी प्रक्रियामा सहभागी भएर आवश्यक कागजात पेस गरिन् र बीमाबापतको रकम प्राप्त गरिन् ।

विगतमा कार्यालय तथा सार्वजनिक ठाउँमा आफ्ना कुरा राख्न नसक्ने महिलाहरू अहिले आवश्यक कामका लागि सम्बन्धित कार्यालयमा आफैँ पुग्न सक्ने अवस्थामा पुगेको पत्रकार चौधरीको भनाई छ ।यस्ता कार्यक्रमलाई स्थानीय तहले पनि निरन्तरता अगाडी बढाउनु पर्ने आवश्यकता रहेको चौधरीको जोड छ ।

संरक्षण परियोजनाले तीन वर्षे अवधिमा बन तथा जैविक विविधता जलाधार क्षेत्र संरक्षण र जीविकोपार्जन सुधारमा महत्त्वपूर्ण योगदान गरेको लहान नगरपालिकाका मेयर महेश चौधरीको भनाई छ । परियोजनाले सञ्चालन गरेका कामहरू नगरपालिकाले अपनत्व ग्रहण गरेर अगाडि बढाउने प्रतिबद्धता चौधरीले जनाएका छन् ।

उनले भने, ‘जलाधार संरक्षणमा ठूलो उपलब्धि भएको छ । विगतमा नगरपालिकाले पनि सहकार्य गरेर ती कार्यक्रम अगाडी बढाएका थियौ । उदाहरणिय काम भएका छन् । १२ वटा पोखरी बनेका छन् ।’

निर्माण गरी पानी संरक्षण गरिएका ठाउँमा माछा पालन बिस्तार गरी रोजगारी सृजना गर्ने, जंगल क्षेत्रमा आँप लिचि कटहर लगाएर एकातर्फ सामुदायिक बनको आम्दानी बढाउने, अर्कोतिर वन्यजन्तुको समुदायमा प्रवेश कम गराउने योजना पनि रहेको उनले बताए । कृषक पाठशाला, करार खेतीलाई अगाडी बढाउने योजना रहेको चौधरीले सुनाए ।

उत्पादनसँगै बजारीकरणमा जोड

लहान–१८ स्थित अमृतपान कृषि सहकारी संस्थामार्फत किसानको दूधको बजार सुनिश्चित गरिएको कृषि अधिकृत शोभापासवानले जानकारी दिइन् । किसानले दूध उत्पादन गर्छ सहकारी मार्फत डेरीले लिने व्यवस्था मिलाइएको दूध लिन्छ । यसरी किसानले उत्पादन गरेको दूधले मूल्य र बजार पाएको छ ।

किसानहरू दूध सहकारीलाई दिन्छन् । सहकारीले किसानको आवश्यकता अनुसार भुस, पिना, चोकर, मकै, गहुँ तथा मलखादलगायत सामग्री उपलब्ध गराउँदै आएको सहकारीका व्यवस्थापक पवनकुमार महतोले जानकारी दिए ।

दुना टपरी बजार सुनिश्चित गर्न कोइरालो खोला नमुना सामुदायिक बन तथा हात्तीदह सीमसार पर्यटकीय क्षेत्रले सहयोग गरेको छ । हात्तीदहले पर्यटकीय क्षेत्र भित्र प्लाष्टिक निषेधित गर्ने एक हप्ता अघि निर्णय गरेको छ । हात्तीदहमा कार्तिक देखि जेठ सम्म दैनिक २५ देखि ४० वटा सम्म पिकनिक समूह आउने गरेका छन् । त्यहाँ पनि दुना टपरीको बिक्री कक्ष राख्ने त्यसले बजार थप सुनिश्चत हुने समिति सदस्य गीता चौधरीले बताइन् ।

प्रतिक्रिया