info@nawayug.com

दीपिकाको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तनाव, आफन्तद्वारा तोडफोड

धरान । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा तोडफोड गरेका छन्।

धरान उपमहानगरपालिका–१५ की दीपिका पेट दुख्ने समस्या भएपछि मंगलबार बिहान साढे ७ बजे प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा मंगलबार राति साढे ८ बजे उनको मृत्यु भएको थियो । बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण दीपिकाको मृत्यु भएको आरोप लगाउँदै प्रतिष्ठानको निर्देशक कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका थिए।

दीपिकाका दाजु भूपेन्द्र तामाङले बच्चा वार्डमा कार्यरत चिकित्सकको चरम लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाए। उनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

तर प्रतिष्ठानका प्रवक्ता प्रा.डा.शमशेर श्रेष्ठले भने अस्पतालको स्वास्थ्य प्रोटोकलअनुसार नै दीपिकाको उपचार गरिएको दाबी गरेका छन् । उनका अनुसार चिकित्सकको उपचारका कारण नभई बिरामीमा रहेको जटिल रोगका कारण मृत्यु भएको हो।

प्रवक्ता श्रेष्ठका अनुसार उपचारका क्रममा दीपिकाको मुटुमा समस्या देखिएपछि सिटी स्क्यान गर्नसमेत समस्या भएको थियो। घटनाबारे छानबिन समिति गठन गरेर अघि बढ्ने उनले बताए ।

तोडफोडपछि प्रतिष्ठान परिसरमा तनावको अवस्था सिर्जना भएको थियो। त्यसपछि मृतकका आफन्त र प्रतिष्ठान प्रशासनबिच वार्ता भएको थियो । वार्तामा प्रतिष्ठानका निर्देशक इन्द्र लिम्बू, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूको सहभागिता थियो।

वार्तामा मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, दीपिकाको सम्पूर्ण उपचार खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने माग राखेका छन्।

त्यसैगरी, आक्रोशित आफन्तबाट भएको तोडफोड तथा अन्य घटनामा संलग्न व्यक्तिमाथि कारबाही नगर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

आफन्तले राखेका मागबारे प्रतिष्ठान प्रशासनका प्रमुखलगायत सम्बन्धित पक्षसँग थप छलफल गर्ने सहमति भएको छ। मागका विषयमा थप छलफल गर्न दिउँसो २ः३० बजे सोही स्थानमा पुनः वार्तामा बस्ने ? सहमति सहित तत्कालको छलफल टुङ्गिएको छ।

दीपिकाको मृत्युको कारण तथा उपचारमा चिकित्सकीय लापरबाही भए नभएको विषयमा प्रतिष्ठानले छानबिन समिति गठन गर्ने जनाएको छ। त्यसपछि मात्रै उपचारमा भएको वास्तविक अवस्था स्पष्ट हुने प्रतिष्ठानले बताएको छ ।

प्रतिक्रिया