info@nawayug.com

ग्यासजन्य आगलागी नियन्त्रणका उपायबारे ललितपुरमा प्रदर्शन

काठमाडौँ । चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमुना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक ज्ञान दिइएको हो ।

दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठुलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गरेका छन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास सिलिन्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइपको प्रयोग गर्नेजस्ता गलत अभ्यासले आगलागी निम्त्याउने बताए ।

कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । प्रशासकीय अधिकृत गणेश अधिकारीलगायत सहभागीहरूले सिलिन्डरको सुरक्षाबारे व्यावहारिक अभ्यास गरेका छन् । विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सीप सिक्नु आवश्यक रहेकोमा प्रजिअ घिमिरेले जोड दिए ।

ग्यास सुरक्षाबारे प्रजिअ घिमिरेले भने, “आज एलपीजी ग्यासबाट हुन सक्ने आगलागीजन्य विपद्को सिमुलेसन तथा डेमो प्रस्तुत गरियो । दैनिक जीवनको अभिन्न हिस्सा बनेकाले यसको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुन आवश्यक छ । यस अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यावहारिक ज्ञान दिएको छ । पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्त्वपूर्ण हुन्छ । यहाँ सिकेको ज्ञानलाई घर, कार्यालय र समुदायसम्म पुर्‍याउन सके मात्र यसको वास्तविक सफलता मिल्नेछ ।”

हरेक घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय-समयमा त्यसलाई रिफिल गर्न उनले सुझाव दिएका छन् । साथै नियमित जाँच गर्दै सिकेको सीप अरूलाई पनि सिकाएर सुरक्षित रहन उनले आग्रह गरे ।

प्रतिक्रिया