info@nawayug.com

कांग्रेस केन्द्रीय सदस्यमा भोजपुरका रोहित विकको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्य (दलिततर्फ) मा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि पार्टीको संगठन निर्माण र वैचारिक अभियानमा सक्रिय विश्वकर्माले दलित तथा सीमान्तकृत समुदायको पार्टीको नीति, संगठन र नेतृत्व तहमा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न उम्मेदवारी दिएको बताएका छन् ।

पौवादुङ्मा गाउँपालिका–१, श्यामशिलाका विश्वकर्माले तीन दशकभन्दा लामो आफ्नो राजनीतिक यात्रा, निरन्तरता र योगदानको मूल्यांकन गर्दै महाधिवेशन प्रतिनिधिहरूले आफूलाई केन्द्रीय समितिमा निर्वाचित गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले २०५१ सालमा विद्योदय माध्यमिक विद्यालयको नेविसंघ इकाइ कार्यसमितिमा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि नेपाल दलित संघ भोजपुरको तीन कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका विश्वकर्मा नेपाल दलित संघको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए ।

कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा भोजपुरबाट महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि निर्वाचित विश्वकर्माले पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागमा समेत काम गरिसकेका छन् । उनी २०७४ र २०७९ को निर्वाचनमा भोजपुर प्रदेशसभा १ (क) बाट समानुपातिक उम्मेदवारसमेत बनेका थिए ।

विश्वकर्माले दलित तथा सीमान्तकृत समुदायका मुद्दालाई राजनीतिको मूलधारमा स्थापित गर्नेलगायत समसामयिक विषयलाई आफ्नो एजेण्डा बनाएका छन् । साथै, नयाँ पुस्ता र युवालाई राजनीतिमा जोड्दै कांग्रेसका लोकतान्त्रिक मूल्य–मान्यता र डिजिटल युगअनुकूल आधुनिक राजनीतिक अभ्यासतर्फ आकर्षित गर्ने योजना उनले अघि सारेका छन् ।

दलित समुदायको मौलिक सीपलाई आधुनिक प्रविधि, बजारीकरण र सहुलियतपूर्ण कर्जासँग जोडेर आर्थिक सशक्तीकरण गर्ने राज्यस्तरीय नीति निर्माणका लागि पार्टीमार्फत दबाब दिने विश्वकर्माले बताएका छन् । त्यस्तै, कांग्रेसको झण्डा बोक्ने भुइँतहका निष्ठावान् कार्यकर्ताको योग्यता, त्याग र योगदानको उचित मूल्यांकन हुने पद्धति विकास गर्न भूमिका खेल्ने उनको भनाइ छ ।

प्रतिक्रिया