info@nawayug.com

मधेसी समूहबाट सहमहामन्त्री बन्न ८ जनाको दौड, आज हुँदैछ फैसला

जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्री पदका लागि ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित अजयकुमार चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादव चुनावी मैदानमा छन्।

मधेसी क्लस्टरबाट एक जना मात्रै निर्वाचित हुने भएकाले यो प्रतिस्पर्धालाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। उम्मेदवारमध्ये केही लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय छन् भने केही अन्य दल हुँदै कांग्रेसमा प्रवेश गरेका र नयाँ पुस्ताका नेताहरू छन्।

१४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित महेन्द्र यादव यसपटक पनि सोही पदका उम्मेदवार हुन्। अजयकुमार चौरसिया पनि कांग्रेसको लामो राजनीतिक तथा संसदीय अनुभव भएका नेता हुन्।

नागिना यादव र किरण यादव महिला नेतृत्वका रूपमा प्रतिस्पर्धामा छन् भने अभिषेकप्रताप शाह अन्य दल हुँदै कांग्रेसमा आएका नेता हुन्। रामपल्टन साह र मनिषकुमार मिश्रलाई नयाँ पुस्ताका उम्मेदवारका रूपमा हेरिएको छ। मुक्ताकुमारी यादवले यसअघि मधेसी महिला कोटाबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेकी छन्।

आज हुने मतदानमा संगठनात्मक प्रभाव, व्यक्तिगत लोकप्रियता र प्रतिनिधिसँगको सम्बन्धले कसको पक्षमा परिणाम ल्याउँछ भन्नेमा कांग्रेसभित्र चासो बढेको छ। मधेसी समूहबाट सहमहामन्त्रीमा निर्वाचित हुने परिणामले कांग्रेसको मधेसमा आगामी शक्ति सन्तुलनको संकेतसमेत गर्ने देखिन्छ।

प्रतिक्रिया