info@nawayug.com

बाढीपीडितको उद्धार र महिला सुरक्षासहित विविध विषयमा सांसदको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरूले मुलुकको पछिल्लो भू-राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव र जनसरोकारका दैनिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन्। 

सांसदहरूले बाढीपीडितको उद्धार, सार्वजनिक यातायातमा महिला सुरक्षा, लागुऔषध नियन्त्रण र दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनका सन्दर्भमा प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घको महासभामा भएको सम्बोधनको प्रशंसा गरिन्। उनले नेपालले उठाएको ‘जलवायु न्याय’ र क्षेत्रीय समन्वयको एजेन्डालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन्। विज्ञान, नीति र कूटनीतिको समन्वय गर्दै स्थानीय समुदायको आवाजलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

सांसद अमृता विकले आफ्नो निर्वाचन क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षति र विस्थापितहरूको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराइन्। पीडितहरू जोखिमपूर्ण घरमा फर्कन बाध्य भएको भन्दै उनले तत्काल राहत र पुनःस्थापनाको माग गरिन्।

सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाका सञ्चालन गर्न र सो सडक निर्माणलाई द्रुत बनाउन सरकारको ध्यानाकर्षण गराए। यस्तै, सांसद अम्बिकादेवी सङ्ग्रौलाले साना जलविद्युत आयोजनाभन्दा ठुला बाँधसहितका बहुउद्देश्यीय परियोजनामा जोड दिइन्।

सहरी जनजीवनका समस्याबारे सांसद अप्सना बानुले पार्किङ व्यवस्थापनमा देखिएको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गर्दै कानूनी राज्यमा कानूनको पालना दुवै पक्षबाट हुनुपर्ने बताइन्। सार्वजनिक यातायातमा महिलाको सुरक्षा र असुरक्षाको विषय सांसद अशोककुमार चौधरीले उठाउँदै महिलामैत्री ‘ब्लु बस’ सेवा कार्यान्वयनको माग गरे।

लागुऔषध नियन्त्रणका लागि केवल पक्राउ मात्र पर्याप्त नहुने भन्दै सांसद आनन्दबहादुर चन्दले ‘ग्लोबल स्कुल बेस्ड हेल्थ सर्भे’ जस्ता वैज्ञानिक अध्ययनको खाँचो औँल्याए। सांसद अर्विन साहले चाडपर्व नजिकिँदै गर्दा बजारमा कालोबजारी रोक्न र सुशासन कायम गर्न आग्रह गरे। 

सांसद आशा झाले प्रधानमन्त्रीको भ्रमण र खोला किनारको मापदण्डबारे धारणा राख्दै संसद्मा उठेका विषयलाई शून्यमा विलीन हुन नदिन आग्रह गरिन्।

प्रतिक्रिया