info@nawayug.com

विश्वव्यापी गरिबी बढ्दो, १ अर्ब २० करोड मानिस प्रभावित

काठमाडौँ । विश्वव्यापी बहुआयामिक गरिबी सन् २०१० यता पहिलोपटक बढेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँच्ने मानिसको सङ्ख्या एक अर्ब २० करोड पुगेको छ ।

युएनडीपी र अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकाससम्बन्धी अनुसन्धान केन्द्रले तयार पारेको सन् २०२६ को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा तीव्र गरिबीमा रहेका मानिसको सङ्ख्या पाँच करोड १५ लाखले बढेको हो ।

युएनडीपीका प्रशासक अलेक्जान्डर डे क्रोले गरिबीमा भएको वृद्धिलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार गरिबीमा रहेका मानिसले भोकमरी, विद्यालय शिक्षाबाट वञ्चित हुने अवस्था तथा स्वच्छ पानी र बिजुलीको अभावजस्ता परस्पर सम्बन्धित समस्याको सामना गरिरहेका छन् । उनले यस्तो अवस्था अस्वीकार्य रहेको बताएका छन् ।

प्रतिवेदनअनुसार तीव्र गरिबीमा रहेका आधाभन्दा बढी मानिस बालबालिका छन् । यद्यपि, गरिबीमा बाँच्ने मानिसको कुल सङ्ख्या बढ्नुको प्रमुख कारण जनसङ्ख्या वृद्धि रहेको युएनडीपीले जनाएको छ । प्रतिवेदनमा समेटिएका १०८ विकासोन्मुख देशमध्ये १३ देशमा मात्र जनसङ्ख्या वृद्धिसम्बन्धी नयाँ तथ्याङ्क उपलब्ध रहेको उल्लेख छ ।

विश्वभर गरिबीमा रहेका मानिसको कुल सङ्ख्या बढे पनि केही देशले गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेका छन् । पछिल्लो १५ वर्षमा ३३ देशले बहुआयामिक गरिबीमा बाँच्ने जनसङ्ख्याको अनुपात आधा घटाएका छन् । तीमध्ये उपसहारा अफ्रिकाका छ देश छन् । चीन र भियतनामसहित एसियाली देशहरूले पनि गरिबी घटाउन तीव्र प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले विश्वका अधिकांश गरिब मानिस उपसहारा अफ्रिका र दक्षिण एसियामा बसोबास गर्ने देखाएको छ । विशेषगरी भारतीय उपमहाद्वीपमा गरिबीको समस्या गम्भीर रहेको जनाइएको छ ।

नेपालसहित इजिप्ट र ताजिकिस्तानमा गरिबीको दर तथा बहुआयामिक गरिबीमा बाँच्ने मानिसको सङ्ख्या दुवै उल्लेखनीय रूपमा घटेको प्रतिवेदनमा उल्लेख छ । अङ्गोला र जाम्बियामा भने गरिबीको दर घटे पनि जनसङ्ख्या वृद्धिका कारण गरिबीमा रहेका मानिसको कुल सङ्ख्या बढेको छ ।

बहुआयामिक गरिबी सूचकाङ्कले आम्दानीलाई मात्र गरिबी मापनको आधार मान्दैन । यसले पर्याप्त आवास, सरसफाइ, बिजुली, खाना पकाउने इन्धन, पोषण र शिक्षामा पहुँचको अवस्थासमेत मूल्याङ्कन गर्छ । यसले मानिसको जीवनस्तरमा रहेका विभिन्न अभावलाई समेटेर गरिबीको वास्तविक अवस्था पहिचान गर्ने प्रयास गर्छ ।

प्रतिक्रिया