info@nawayug.com

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तीन गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, झोलुङ्गे पुल, मोटरेबल पुल तथा जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन्।

प्रारम्भिक विवरणअनुसार चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा बाढीले क्षति गरेको हो।

गोरखाका पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएको थियो। त्यसपछि थुनिएको पानी एक्कासि बग्दा बूढीगण्डकी नदीमा बाढी आएको र नदीको जलसतह बढेको बताइएको छ। बाढीले नदी आसपासका बस्ती र पूर्वाधारमा क्षति पुर्‍याएको छ।

प्रारम्भिक जानकारीअनुसार चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ। त्यस्तै, भ्याको झोलुङ्गे पुल, फिलिम र न्याक्चेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।

बाढीले जगत बगरका नौ, सल्लेरीका पाँच र ठाडो भञ्ज्याङका तीन गरी प्रारम्भिक विवरणअनुसार १७ वटा घर बगाएको पत्रकार उप्रेतीले जानकारी दिएका छन्।

यसैगरी, आरुघाट गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज बाढीले बगाएको छ। आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा पनि क्षति पुगेको छ।

उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला भने सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामालाई उद्धृत गर्दै पत्रकार उप्रेतीले बताएका छन्।

बाढीबाट भएको क्षति र सम्पर्कविहीन गोठालाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया