यूएई। संयुक्त अरब इमिरेट्स (यूएई) को कामदार भिसाका लागि आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणीकरण शुल्क आधाले घटाइएको सूचना प्राप्त भएको छ। सोमबारदेखि लागू हुने गरी यसअघि ३५४ यूएई दिराम रहेको शुल्क घटाएर १७२ दिराम कायम गरिएको जनाइएको छ।
त्यसै गरी, पर्यटक (भिजिट) भिसामा यूएई आउने नेपाली नागरिकका हकमा प्रहरी प्रतिवेदनको अनिवार्य व्यवस्था हटाइएको छ। यूएईका सात वटै इमिरेट्समध्ये हाल अबुधाबीको अध्यागमनमार्फत मात्रै नेपाली नागरिकका लागि भिजिट भिसा जारी भइरहेका छन् ।
भिजिट भिसाबाट कामदार भिसामा परिवर्तन गर्न नपाइने
प्रहरी प्रतिवेदनबिनै भिजिट भिसामा यूएई आउन सकिने व्यवस्था भए पनि उक्त भिसालाई कामदार भिसामा परिवर्तन गर्न भने नपाइने जनाइएको छ।
त्यसैले भिजिट भिसामा यूएई आउने योजना बनाएका नेपाली नागरिकले भिसासम्बन्धी नियम र सर्तबारे स्पष्ट जानकारी लिएर मात्रै योजना बनाउनपर्ने देखिन्छ।
नेपाली दूतावासले आधिकारिक पुष्टि गर्न बाँकी
यस विषयमा यूएईस्थित नेपाली दूतावास, अबुधाबीले हालसम्म आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। यद्यपि, अनौपचारिक रूपमा प्राप्त सूचनाअनुसार काठमाडौंस्थित भिसा सेन्टरमा कामदार भिसाका लागि प्रहरी प्रतिवेदन प्रमाणीकरण गराउँदा लाग्ने शुल्क घटाइएको र प्रहरी प्रतिवेदनबिनै पनि नेपाली नागरिकले भिजिट भिसा प्राप्त गरेको दूतावास स्रोतले जनाएको छ।
यद्यपि, शुल्क परिवर्तन, प्रहरी प्रतिवेदनसम्बन्धी व्यवस्था र भिसा परिवर्तनको नियमबारे सम्बन्धित निकायबाट औपचारिक सूचना सार्वजनिक हुन बाँकी रहेकाले यूएई आउन तयारी गरिरहेका नेपाली नागरिकले अन्तिम निर्णय गर्नुअघि सम्बन्धित भिसा सेन्टर वा आधिकारिक निकायसँग जानकारी लिएर मात्रै योजना बनाउन पर्ने देखिन्छ ।
गत वर्ष नेपालमा भएको जेन्जी आन्दोलन पछिको परिस्थितिमा नेपाली नागरिकका लागी यूएई भिसा पाउन प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो । पुलिस रिपोर्ट लाई प्रमाणीकरण समेत गर्नुपर्ने व्यवस्था झन्झटिलो र खर्चिलो भएको भन्दै कूटनैतिक तवरमा लामो समयदेखि यो व्यवस्था हटाउन नेपाली दूतावास , तथा मन्त्रालयले प्रयास गरिरहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com