काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद ३० हजार रुपैयाँसहित आठ जनालाई तथा सुन्धाराबाट एक जनालाई पक्राउ गरेको छ । त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोल र ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक–एक जना पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट पाँच किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा र नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक–एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–७ बाट चार जना तथा मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट एक जना पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोलका एक हजार ६१० ट्याब्लेट, नाइट्राभेटका २६ ट्याब्लेट र नगद ६७ हजार ४०० रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित स्थानीय रामनरेश कुर्मी पक्राउ परेका छन् । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक जना र कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com