info@nawayug.com

तोकिएभन्दा बढी इन्टरनेट शुल्क नलिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवाप्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरे पनि कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । प्राधिकरणका अनुसार इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन भने शुल्क बढाउन स्वीकृति पनि दिइएको छैन ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ । प्रचलित निर्देशिकाअनुसार शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले स्मरण गराएको छ ।

प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन नपाइने र पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न नहुने कानुनी व्यवस्था रहेको पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

नियमविपरीत शुल्क असुल्ने वा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवाप्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया