काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले महिला हिंसाका घटनाहरू र समाजमा बढ्दो मदिरा तथा लागुपदार्थको सेवनले निम्त्याएको भयावह स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा उनले सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा हालै घटेको एक हृदयविदारक घटनाको उदाहरण दिँदै आमनागरिक, विशेषगरी महिलाहरूको सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएकी छिन्।
सांसद बिकका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–६ मा गोपीराम जैसीले आफ्नै श्रीमती चन्द्रकला देवकोटा जैसीमाथि निर्मम कुटपिट र प्रहार गरी हत्या गरेका छन्। मदिरा सेवनका कारण श्रीमानले श्रीमतीलाई हानेर हत्या गरेको र घटनामा उनीहरूका दुई छोरीहरू समेत गम्भीर घाइते भएको सांसद बिकले जानकारी गराइन्। ‘मदिरा सेवन र लागुपदार्थको लतले एउटा परिवार नै उजाडिएको छ,’ उनले भनिन्, ‘श्रीमतीको हत्या भएको छ, छोरीहरू घाइते छन्, र एउटा छोरा भागेर ज्यान बचाउन सफल भएको छ।’
सांसद बिकले गृहमन्त्री र सरकारका जिम्मेवार निकायसँग पीडित परिवार र घाइते छोरीहरूको जीवनरक्षाका लागि उचित व्यवस्थापन र उपचारको व्यवस्था गर्न, मदिरा तथा लागुपदार्थ सेवनका कारण समाजमा बढ्दो अपराध नियन्त्रण गर्न स्थानीय स्तरमा कडाइ गर्न, केवल ठूला ब्रान्डका मदिरा मात्र नभई गाउँघरमा पाइने सोबीु जस्ता घरेलु मदिराको नियन्त्रण र नियमन गर्न, अपराधीलाई कानुनको दायरामा ल्याएर हदैसम्मको सजाय गर्न र हत्या गरिएकी चन्द्रकलाका बाँचेका छोरीहरू र परिवारलाई राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । समाजमा बढ्दो ‘जाँड खाने’ विकृतिलाई रोक्न र लागुपदार्थको कुलतबाट युवा र नागरिकलाई बचाउन राज्यले विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com