हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ ।
गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो । लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन् । माछा–मासु पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताए ।
उनका अनुसार नाका बन्द भएपछि हिल्सामा खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी वा मेडिकलसमेत छैन । सशस्त्र प्रहरी बलका एक जना जवानले सिएमए तालिम लिएको र उनीसँग रहेको सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।
नाका बन्द हुँदा हिल्सामा रहेका नेपाली नागरिकको आवतजावतसमेत प्रभावित भएको थियो । चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली नागरिक नेपालतर्फ प्रवेश गरेका छन् तीमध्ये केहीले हिउँ जमेको बाटो हुँदै नेपाल फर्किनुपरेको छ ।
कतिपय आजै पैदल मार्ग हुँदै अघि बढिसकेका छन् भने केही शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा रहेको बताए । चीनबाट नेपाल आज अबेर प्रवेश गरेकाहरु भोलि बिहानै हिँड्ने तयारी गरिरहेको बताए । यता, नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारबाट मात्रै सुरु भएको छ ।
नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ तर मेसिन सानो भएकाले दैनिक बढीमा एक–दुई किलोमिटर मात्रै सडक सफा गर्न सक्ने अवस्था रहेको छ । सडक सफा गर्ने गति निकै सुस्त भएपछि हिल्सामा रोकिएका नेपाली नागरिकमा झनै चिन्ता बढेको छ ।
यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन् ।
लामो समयदेखि सीमा नाका बन्द, सडकमा जमेको बाक्लो हिउँ, खाद्यान्नको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा हिल्सा अहिले समस्या नै समस्याको बीचमा छ ।
चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा हिल्साबाट घर फर्किन चाहने नागरिकका लागि अर्को चुनौती थपिएको छ ।
स्थानीय तथा सुरक्षाकर्मीका अनुसार तत्काल सडकमा प्रभावकारी रूपमा हिउँ पन्छाउने व्यवस्था गरी यातायात सञ्चालनमा ल्याउन नसके हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट थप गहिरिन सक्ने देखिएको छ ।
यतिबेला हिल्समा ३५ जना ससस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, चार जना अध्यागमन कार्यालय र चार जना भन्सारका गरी ६३ जना सरकारी कर्मचारी छन् भने केही स्थानीय नागरिकसमेत बस्दै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com