काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको शुक्रबार बिहान ११ बजेसम्मको विवरणअनुसार दुई सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द छ भने तीन स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।
बागमती प्रदेशको रसुवामा बाढीका कारण जिल्लाका सबै मुख्य राजमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको म्याग्दीस्थित रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, धादिङको धुनिबेशी नगरपालिका–९, खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।
नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३, जन्ती पहिरोस्थित कालीगण्डकी कोरिडोरमा पनि एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ । उक्त सडकखण्डमा ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण प्रभावित लमजुङको बेसीसहरदेखि मनाङको खाङसारसम्म जोड्ने सडकखण्डमा पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने प्रयास भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com