मेक्सिको । मेक्सिकोको उत्तरपश्चिमी राज्य सिनालोआस्थित एक कारागारमा कैदीहरूबीच झडप हुँदा एक बालकसहित १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ कैदी र जेलमा भेटघाटका लागि आएका एक बालक रहेका छन् ।
अलजजिराका अनुसार सिनालोआ राज्यको मजाटलान सहरस्थित एल कास्टिलो कारागारमा बिहीबार झडप भएको हो । घटनामा घाइते भएका १६ कैदीलाई उपचारका लागि अस्पताल लगिएको राज्यको सार्वजनिक सुरक्षा सचिवालयले जनाएको छ ।
सिनालोआका सार्वजनिक सुरक्षा सचिव सिनुहे टेलेजले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमार्फत मृत्यु हुनेमध्ये एक जना जेलमा भेटघाटका लागि आएका नाबालक रहेको जानकारी दिएका छन् ।
घटनापछि विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो । अधिकारीहरूका अनुसार अहिले कारागारको अवस्था नियन्त्रणमा आइसकेको छ । सुरक्षाकर्मी भने घटनास्थलमा तैनाथ छन् ।
मृतकका परिवारलाई घटनाबारे जानकारी दिन सामाजिक कार्यकर्ताहरू परिचालन गरिएको टेलेजले बताएका छन् । सुरक्षाका कारण तत्कालका लागि कारागारमा कैदी भेट्न आउने आगन्तुकमाथि रोक लगाइएको छ । जेलभित्र रहेका अन्य कैदी सुरक्षित रहेको पनि अधिकारीहरूले जनाएका छन् ।
सिनालोआ मेक्सिकोका शक्तिशाली लागुऔषध तस्करी गिरोहहरूको गतिविधि र आपसी द्वन्द्वका कारण सुरक्षा चुनौती झेलिरहेको राज्य हो । यहाँ सिनालोआ लागुऔषध कार्टेलका प्रतिस्पर्धी समूहबीच लामो समयदेखि संघर्ष हुँदै आएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सुरक्षा जोखिमका कारण आफ्ना नागरिकलाई भ्रमण नगर्न सुझाव दिएका मेक्सिकोका छ राज्यमध्ये सिनालोआ पनि एक हो ।
यद्यपि, एल कास्टिलो कारागारमा भएको पछिल्लो झडप लागुऔषध तस्करी गिरोहबीचको द्वन्द्वसँग सम्बन्धित थियो वा थिएन भन्नेबारे अधिकारीहरूले खुलाएका छैनन् । घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com