info@nawayug.com

अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंक प्रमुखसँग भेट्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन, डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरेका हुन् ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने भएका छन् । उक्त भेटवार्ता सोमबारका लागि तय भएको छ ।

भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुने मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

छलफल तथा भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुने भएको छ ।

त्यस्तै, सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया