कानून विषयको स्नातक तह सञ्चालनको तयारी
हेटौंडा । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा स्नातक तहमा कानून विषय (एलएलबी) ल्याउने तयारी गरिएको छ । कक्षा ११ र १२ मा कानून विषय २ वटा विद्यालयमा सञ्चालन भए पनि हेटौंडामा स्नातक तह सञ्चालनमा आउन सकेको छैन । स्नातक तहमा कानून विषयको माग बढेकाले यो वर्ष एलएलबी कोर्स ल्याउने योजना रहेको विद्यालयका प्रधानाध्यापक मोहन शर्माले बताउनुभयो । स्नातक तहमा कानुन विषय पढ्न बाहिर जानुपर्ने अवस्था आएकाले यस वर्ष विद्यालयमा स्नातक तहमा कानुन विषय ल्याउने योजना रहेको उहाँले बताउनुभयो । यस्तै, विद्यालयमा प्राविधिक विषय थप्ने योजना रहेको उहाँले बताउनुभयो ।
कोरोनाका कारण २ वर्षदेखि खस्केको विद्यार्थीहरुको पढाईमा अहिले केही सुधार हुँदै आएको प्रधानाध्यापक शर्माले बताउनुभयो । अहिले विद्यालय विद्यार्थीको पढाई साथसाथै उनीहरुको नैतिकताको विकास गर्नेतर्फ अगाडि बढिरहेको उहाँले बताउनुभयो । कारोनाका कारण लकडाउनमा अनलाईन कक्षाका लागि आफैं विद्यालयले अभिभावकलाई मोबाईल किनिदिन अनुरोध गरेपनि अहिले विद्यार्थीको ध्यान पढाईमा भन्दा मोबाईलमा भएको र पढाईप्रति गम्भिर नभएको शर्माको भनाई छ । त्यसैले विद्यालयले अहिले पहिलो प्राथमिकतामा विद्यार्थीलाई पढ्ने बानीको विकास गर्न तर्फ अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
अहिलेको पढाई जति नै राम्रो भने पनि पहिलेको जस्तो नभएको उहाँको भनाई छ । अहिलेका बालबालिका कुलतमा फस्ने क्रम अत्याधिक बढेको र तत्काल यो क्रमलाई घटाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । विद्यालय पढ्ने विद्यार्थी र कक्षा ११, १२ पढ्ने विद्यार्थी चुरोट, गाँजा जस्ता लागुपदार्थ दुर्व्यसनमा फसेको र यसलाई रोक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै विद्यार्थी कुलतको बाटो तिर लागेका छन् । विद्यालय तहका विद्यार्थीले चुरोट, गाँजा सेवन गर्ने क्रम बढेको छ र यो क्रमलाई रोक्न जरुरी छ ।”
अहिले विद्यालयमा कक्षाकोठाको अभाव रहेको उहाँले बताउनुभयो । तत्कालका लागि विद्यालयमा ३ वटा कक्षाकोठाको आवश्यक रहेको र यसका लागि पालिकामा सहयोगका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । त्यस्तै, अझै पनि दिवा खाजामा समस्या आएको उहाँले बताउनुभयो । बजारमा सबैकुराको मूल्य बढेकोमा दिवा खाजाका लागि आउने रकम बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
अहिले नयाँ शैक्षिक सत्रमा करिब ६ सय नयाँ विद्यार्थी भर्ना भएको उहाँले जानकारी दिनुभयो । अहिले सिद्धार्थ माविमा २ हजार ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १ देखि १० सम्म नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन हुन्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा विषयमा पठनपाठन हुन्छ ।
यो खबर आजको समृद्ध समाज दैनिकमा समाचार छ ।