हेटौंडामा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठी हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २२ गते भोलि सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रम हुने भएको छ । शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा फागुन २२ गते भोलि हेटौंडामा कार्यक्रम हुने जानकारी दिइएको हो ।
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने संस्थाका केन्द्रीय महासचिव बिमल होडाले बताए । २०३९ सालमा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्थाले अर्बुद रोग निवारणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका केन्द्रीय महासचिव होडाले बताए ।
हाल नेपालमा वार्षिक रुपमा २० हजार क्यान्सर रोगका बिरामी थपिने गरेको र करिब १३ हजार मानिसको क्यान्सर रोगकै कारण मृत्यु हुने गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ ।
क्यान्सर रोगको प्रमुख कारक तत्वको रुपमा रहेको सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित पार्न सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ ।